सल्लेरीको पातला, हिलाम्मे बाटो , घोडा चढाईको उमंग ,चट्टानी टुप्पो पार गरेपछि हाम्रो पाइला तलतिर उत्रिए । बिहानी घामका किरणहरुले आफ्नो प्रवाह बिस्तार गर्दै थिए , हावा पनि बिस्तारै तातो हुँदै गएको थियो तर रुखको फेदमा परेको ओसले बाटोलाई अझै चिप्लो बनाइरहेको थियो ।

टाढै बाट देखिएको निलो झलक हरेक कदम सँगै अझ नजिक, अझ गहिरो हुँदै आईरहेको थियो । रारा ताल नेपालकै सबैभन्दा ठूलो र उच्च हिमाली ताल हो , कर्णालीको गर्व हो नेपाल र नेपालीको मान सम्मान हो ।
जुन क्षण हामीले पहिलो पटक यसको सम्पूर्ण विस्तार देख्यौँ, शब्दहरू स्वतः हराए । गाढा निलो पानी, वरिपरि घना सल्लाका जंगल, र माथि खुला आकाश सबै तत्वहरू आपसमा मिसिएर एउटा अनन्त चित्र बनेको जस्तो ।
देब एकछिन मौन रहे । “यही हो हाम्रो गन्तव्य,” ऊ फुसफुसायो । बैकुण्ठको अनुहार पनि बालकमा जस्तै उत्साह थियो । मैले मात्र गहिरो सास फेरेँ । हिजोको रात, पिना गाउँको अन्धकार, बाटोमै जन्मिएको बालक सब तस्विर झल्किए ।
यहाँको शान्त र विशाल पानीले ती सबै सम्झनालाई शीतलतामा परिणत गरिरहेको थियो । तालको किनार तिर हिँड्दा, पानीको सतहमा हावाले हल्का लहर ल्याउँथ्यो । सूर्यको किरणले त्यो लहरमा नीलो र सुनौलो छाया फिंजाउँथ्यो ।
चरीहरू टाढा वनबाट कराइरहेका थिए। हामी ढुङ्गाको स सानो चौरमा बस्यौँ । कुनै शब्द नबोले पनि मनले धेरै कुरा गरिरहेको थियो । केही समय पछि डुङ्गा आयो हामिले पनि अब डुङ्गा सयर गर्ने योजना बनायौ करिब ५५ मिनेटको डुङ्गा सयर गर्यौ ।
डुङ्गाको बिचमा पुगेपछि बिच ताल बाट विभिन्न आकृतिमा फोटो भिडियो खिच्ने काम गर्यौ । बिचमा डुङ्गा घुमाएर रारा तालको बिचबाट सम्पुर्ण राराको दृश्य अबलोकन गर्यौ , खुब आनन्द आयो , स्वर्गमा घुमेको जस्तो बयान गर्न पछि परेनौ । अनेकौ दृष्टिकोण बाट राराको बयान गर्यौ ।
“कर्णालीको यात्रामा कति कठिनाइ भोग्छौँ,” देबले शान्त स्वरमा भन्यो, “तर गन्तव्यमा आइपुग्दा ती सबै पिडा हराउँछन ।”
मैले उत्तर दिएँ, “सायद गन्तव्यले होइन, बाटोले नै हामीलाई बदल्छ।”
त्यो क्षणले हामीलाई यात्राको वास्तविक अर्थ बुझाइरहेको थियो । राराको निलो सतह हाम्रो आफ्नै मनको गहिराइ जस्तै लाग्थ्यो जहाँ दुःख, रोमाञ्च, करुणा र आनन्द सबै मिसिएको छ ।
वन र वन्यजीवको संसार रारा वरिपरि घना वन रहेको छ । जुन वनमा जंगली जनावर हरीण, रेड पाण्डा जस्ता दुर्लभ प्राणी बस्छन् भन्ने सुन्दा नै एक किसिमको रहस्यको अनुभूति हुन्छ । हामीलाई डुङ्गा चलाउने दाईले भनेका थिए “रारा केवल ताल होइन, यो सबै प्राणिको लागि सबथिक हो । मैले सम्झे यो पूरा पारिस्थितिक संसार हो ।”
हामी स साना पगडण्डी हुँदै घना सल्लाको जंगल छिचोल्दै हिंड्यौँ। हावा पातमा ठोक्किँदा आउने हल्का आवाजले गीतको ताल बनाइरहेको थियो । कहिलेकाहीँ भेडाको घण्टी टन्न् बज्थ्यो, कहिले टाढा बाट चराको चिरबिर आवाज ।
त्यो जंगल भित्र हिँड्दा हिजो रातको ती घटनाहरू फेरि मनमा आउँथे । सुत्केरी महिलाको साहस, गाउँलेहरूको एकआपसी सहयोग, अनि आधुनिक स्वास्थ्य सेवा नपुग्दा पनि जीवनलाई बचाउने ग्रामीण सीप यी सबै कुरा हाम्रो आँखै अगाडि प्रकृति सँगै बाँचिरहेको जस्तो लाग्थ्यो ।
गाउँको जीवन र अतिथि सत्कार :
ताल वरिपरिका गाउँहरू माझघट्टमा पुग्दा हामीलाई स्थानीयहरू र होमस्टेका संचालक हरुले आदरपूर्वक स्वागत गरे । ढुङ्गा माटो र काठको घर , जस्ताको छानो ,लेकाली फुलहरुको रमणीय बाताबरण सङ्गैको सुगन्ध र धूपको हल्का गन्ध मिसिएको तातो भात यिनै हुन् यहाँका पहाडे आतिथ्यका प्रतीक ।
एक वृद्ध गाउँले सँगको संवाद अझै याद छ । उनले भने, “यहाँका मान्छेहरू पहाडजस्तै अडिग हुन्छन । रोग व्याधि, दुर्गम बाटो, मौसमको मार सब सहन्छन । तर मनको माया कहिल्यै सुक्दैन ।”
उनको बोलीमा एउटा गहिरो गर्व थियो, जसले कर्णालीको कठिन जीवनलाई पनि उज्यालो बनाउँथ्यो । मैले त्यही महशुस गरे ।
आत्ममन्थन :
राराको किनारमा बस्दा हामीले तीन दिनको यात्रा र हिजो रातको घटनाहरूलाई मनमै पुनः सम्झ्यौँ । यो यात्रा केवल सुन्दर ताल देख्ने उद्देश्य थिएन । यो कर्णालीको कठिनाइ, त्यहाँका जनजीवन र मानवीय संवेदनालाई नजिक बाट अनुभव गर्ने अवसर थियो ।
मैले मनमनै लेखेँ:
• यात्रा भनेको केवल दूरी पार गर्नु होइन ।
• यो त मानिसको सहनशीलता र प्रकृतिसँगको सामञ्जस्य बुझ्ने पाठ हो ।
• बाटोमा भेटिने आकस्मिकता चाहे त्यो हिलोमा लडेका युवक हुन्
वा अँध्यारो रातमा एक्लै बच्चा जन्माउने महिला हाम्रो आत्मालाई हल्लाउने शक्ति राख्छ ।
रारा तालको सतहमा प्रतिबिम्बित आकाश हेर्दा लाग्थ्यो, जीवन पनि यही ताल जस्तै हो । कहिले शान्त, कहिले हावाको सानो झोक्काले लहरिएको ।
यात्राको अन्त्य, तर सम्झनाको सुरु
साँझ पर्न लाग्दा हामी फर्किने तयारीमा थियौँ। सूर्य अस्ताउँदै गर्दा तालको पानी सुनौलो रंगमा रंगिन थाल्यो । खत्याड खोला किनारमा दौडिरहेका बालबालिका, चुलोमा पाक्दै गरेको गन्ध, र परबाट आउने घण्टीको आवाज यी सबैले यात्राको अन्तिम घडीलाई अझ गहिरो बनाइरहेका थिए ।
देबले अन्तिमपटक क्यामेरा उठायो। “यस दृश्यलाई जति टिपे पनि कम हुन्छ,” ऊ मुस्कुरायो । मैले भनेँ, “चित्र भन्दा पनि यो क्षणलाई मनमा राख्नुपर्छ, शब्दले त यो अनुभूति पुरै समेट्न सक्दैन।”
हामी फेरि खत्याड गाउँ पालिकाको मसाने गाउँ तिर लाग्यौ , मन भने यहीँ कतै छोडे जस्तो लाग्थ्यो । पिना गाउँको अँध्यारो रात, अकल्पनीय प्रसव पीडा, र आज देखिएको राराको अनुपम सौन्दर्य यी सबै स्मृतिहरू एकअर्कामा मिसिएर आत्मामा गहिरो छाप बने ।
कर्णालीले हामीलाई सिकायो :
• कठिनाइको अगाडि मान्छे कति अडिग हुन्छ ।
• प्रकृति सँगको सहजीवनले कसरी मानिसलाई सशक्त बनाउँछ ।
• र यात्राको असली मूल्य गन्तव्य भन्दा पनि बाटोमै छ ।
हामी रारातालको छेउमा पुग्दा सतहमा हल्का लहर उठ्यो । हामी तीन जनाले मौनतामा एकअर्काको नजर भेटायौँ । शब्दहरू अनावश्यक लागे । हामीले अनुभूत गरेको यात्रा अब केवल हाम्रो सम्झनामा होइन, कर्णालीको पहाड र राराको नीलो पानीमा पनि अंकित भइसकेको थियो ।
संस्मरणको सम्पूर्ण सार :
पहिलो दिनको जुम्ला डिङ्ग्रा काम देखि पिना गाउँको अन्धकार, आकस्मिक सुत्केरी घटना, र अन्ततः राराको शान्त नीलोमा तीन दिनको यात्राले हामीलाई सहरको सहज जीवन भन्दा धेरै गहिरो पाठ सिकायो ।
• मानवता: अजनबीको पीडामा पनि कसरी गाउँलेहरू दौडन्छन ।
• प्रकृतिको शक्ति: हावाको झोक्का, वनको सुगन्ध, तालको निलो रंग यी सबैले आत्मालाई शुद्ध गर्छन ।
• यात्राको सार: गन्तव्य केवल एउटा बहाना हो, वास्तविक परिवर्तन त बाटोमै हुन्छ।
रारा तालबाट फर्कँदा हामी केवल यात्रु रहेनौँ; हामी अनुभवले समृद्ध, जीवनको अर्थमा केही कदम नजिक पुगेका मान्छे भयौँ ।





