जुम्ला – जुम्लामा दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८३ आयोजना हुने भएको छ।

जिल्लाको कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले आगामी भदौ ७ देखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार अघिल्ला वर्षहरूमा सम्पन्न महोत्सवबाट प्राप्त अनुभवलाई आधार बनाएर यसपटक देखिएका कमीकमजोरी सुधार गर्दै महोत्सवलाई थप व्यवस्थित, प्रभावकारी र दर्शकमैत्री बनाइनेछ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष कर्ण बुढथापाले विगतका महोत्सवमा ब्यानरमा समावेश गरिएका सबै कलाकार उपस्थित हुन नसकेको विषयलाई स्वीकार गर्दै यसपटक प्रचार सामग्रीमा उल्लेख गरिएका सम्पूर्ण कलाकारलाई महोत्सवमा सहभागी गराइने बताए। महोत्सव सञ्चालनमा व्यवस्थापन र समन्वयलाई पनि विशेष प्राथमिकता दिइएको उनले बताए।
प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीका अनुसार महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारसँगै जुम्लाका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ। उनले महोत्सव भदौ ७ देखि १६ गतेसम्म सञ्चालन हुने जानकारी दिए।
महोत्सवमा कृषि तथा व्यापार प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, सांस्कृतिक कार्यक्रम तथा लोकदोहोरी प्रस्तुति लगायतका विविध गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सवको प्रवेश शुल्क प्रतिव्यक्ति करिब १०० देखि १५० रुपैयाँसम्म निर्धारण गरिनेछ। महोत्सवले जुम्लाको कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक सम्भावनाको प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





