नेपालले विगत दशकमा धुलोबाट उठ्ने संकेत देखाएको थियो। पूर्वाधार निर्माण बढ्दै थियो, गाउँ–गाउँमा सडक, पुल, विद्यालय, अस्पताल बन्दै थिए। पर्यटनले गति लिँदै थियो, लगानी बढ्दै थियो। मुलुकको गति रोकिने अवस्था थिएन। तर एउटै रोग लगातार पस्किन्थ्यो—भ्रष्टाचार।

भ्रष्टाचारले मात्र होइन, नेताहरुको चरित्रहीन स्वार्थले मुलुकलाई पछाडि धकेल्यो। उनीहरुले राज्यलाई आफ्ना नातेदार, आसेपासे र कार्यकर्ताको चाकरी गर्ने मेसिन बनाए। राज्य संयन्त्रलाई कानूनी दायरामा राख्ने संस्थाहरुलाई नै दुर्बल बनाइयो। तर विडम्बना, जसलाई सुधार्नुपर्ने थियो, त्यही संयन्त्र ध्वस्त पारियो।
दुई दिनको ध्वंस र संसारकै अद्वितीय दुर्घटना
संसारमा कुनै मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका दुई दिनमै भौतिकरूपमै समाप्त भएको उदाहरण छैन। तर नेपालमा भयो। यो केवल आन्तरिक असफलताको परिणाम होइन। यसमा बाह्य शक्तिको गहिरो चलखेल देखिन्छ।
नेपाललाई लामो समयका लागि अस्थिर पार्ने योजना बाह्य शक्तिले बुनेकै थियो। यसै योजनाअनुसार ‘जेनजी’ भनिएका युवालाई आवरण बनाएर प्रयोग गरियो।
स्कुलमै विदेशी सेनाको पोसाकमा प्रशिक्षण लिइसकेका दृश्यहरू प्रमाणका रूपमा सार्वजनिक भइसकेका छन्। प्लस टू सकेर पासपोर्ट बोकेर बाहिरिन आतुर पुस्ता—उनीहरूलाई यस खेलमा घचेटियो।
यसरी देशका सरकारी संरचना छानीछानी जलाइयो। सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म, जिल्ला प्रशासनदेखि कार्यालयसम्म—सबै मेटाइयो। देशलाई शताब्दियौँ पछाडि धकेलियो।
सेना किन मौन रह्यो ?
सबैभन्दा ठूलो प्रश्न भनेको यही हो—दुई दिनसम्म राज्यका मूल संरचना जलिरहेका बेला सेना किन मौन रह्यो ?
• सिंहदरबारमा लागेको आगो किन निभाइएन ?
• सार्वजनिक सम्पत्ति किन जोगाइएन ?
• सेना प्रमुख सिग्देल किन हातमा दही जमाएर बसे ?राज्यका अंगहरू जोगाउनुपर्ने सेना नै निष्क्रिय हुँदा, विदेशी रणनीतिलाई सफल बनाउने बाटो सहज भयो।
नेताहरुको असफलता : मुलुक बेच्ने मानसिकता
बाह्य शक्तिको खेल योजनालाई सहज बनाउन आन्तरिक नेतृत्वले बाटो तयार गरिदियो। ओली, देउवा, प्रचण्ड, बाबुराम, महतो, यादव, राणा, थापा—सबैको दोष समान छ।
• ओलीले नातावादको झुण्ड बोकेन भने,
• देउवाले आरजूलाई काँधमा चढाएनन् भने,
• प्रचण्डले सुनतस्कर र जग्गा कारोबारीलाई अंगालो हालेनन् भने,
• बाबुरामले राज्यकोशलाई आफ्ना निकटस्थको थैली बनाउने अनुमति दिएनन् भने,
• र ओलीले अहंकारका भरमा सामाजिक सञ्जाल बन्द गरी स्कूले विद्यार्थीमाथि गोली दागेनन् भने—
सायद आज मुलुक यस्तो भयावह अवस्थामा पुग्दैनथ्यो।
विचार गर्नुपर्ने मुख्य प्रश्न
नेपालका सरकारी संरचना, सार्वजनिक सम्पत्ति र राष्ट्रिय स्मारक नेताहरुको निजी सम्पत्ति थिएनन्। ती जनताको सम्पत्ति थिए। तर राष्ट्रिय झण्डा बोकेकाले नै ती संरचना जलाए।
यसले के देखाउँछ ?
• के यो केवल आक्रोशको परिणाम थियो ?
• कि बाह्य शक्तिले तयार पारेको योजनाबद्ध कोभर्ट अपरेशन ?
• के यस्तो देशमा लगानी गर्ने, भविष्य बनाउने कोही आउँला ?
निष्कर्ष :
नेपाललाई ध्वस्त पार्ने मुख्य दोष आन्तरिक नेताहरुको असफलता हो, तर यो परिणाम बाह्य शक्तिको रणनीतिको भाग पनि हो। एकातिर भ्रष्ट नेताको स्वार्थ, अर्कोतिर विदेशी चलखेल। दुबै मिलेर मुलुकलाई अन्धकारमा धकेले।
अब प्रश्न यही हो—यो मुलुक पुनः उठ्छ कि? कि फेरि अर्को शताब्दीसम्म अस्थिरताको दायरामा कैद हुन्छ ?





