जुम्ला, असोज २२ । जुम्लाको तिला गाउँपालिकामा एक हप्तासम्म चलेको पुरुष खुला भलिबल प्रतियोगिता पञ्चसहिद युवा क्लब तिला–७ पोखरीले जितेको छ। असोज २२ गते सम्पन्न फाइनल खेलमा पञ्चसहिदले उत्कृष्ट प्रदर्शन गर्दै सात सहिद युवा क्लब तिला–८ लाई हराउँदै उपाधि आफ्नाे पोल्टामा पार्यो।

असोज १९ गतेदेखि सुरु भएको प्रतियोगितामा जुम्ला र कालिकोटका २४ टिमबीच कडा प्रतिस्पर्धा भएको थियो। फाइनल खेलमा सात सहिद युवा क्लबले दमदार प्रदर्शन गरे पनि निर्णायक क्षणमा पञ्चसहिदले बाजी मारेको हो।
दुर्गम विकास युवा क्लबको आयोजनामा र तिला गाउँपालिका–६ को आर्थिक सहयोगमा सम्पन्न उक्त प्रतियोगिताले गाउँमा खेलकुदको उत्साह पुनः जगाएको छ। क्लब अध्यक्ष प्रेमबहादुर रावतले वडा सरकारको साथ बिना यस्तो भव्य प्रतियोगिता सम्भव नहुने बताउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
समापन समारोहमा तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले विजेता टोलीलाई बधाई दिँदै भने, “यो प्रतियोगिताले केवल उपाधि मात्र होइन, गाउँबीचको भाइचाराको पुल पनि बलियो बनाएको छ ।”
त्यसैगरी वडा अध्यक्ष जंग रोकायाले वडा सरकारको सानो सहयोगले पनि युवाबीच खेलकुद प्रतिको रुचि र एकता बढेको बताए । उनले एक हप्तासम्म कुनै विवादबिना सफलतापूर्वक खेल सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
विजेता पञ्चसहिद युवा क्लबले नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता सात सहिद युवा क्लबले १५ हजार रुपैयाँसहित सम्मान पाएको छ ।
तिलाका युवाको जोश, अनुशासन र खेलप्रतिको समर्पणले दुर्गम भेगमा पनि खेलकुदको उज्यालो फैलिन थालेको संकेत दिएको स्थानीयवासीले बताएका छन ।





