काठमाडौं । हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षा अनुसार नआए पछि नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले जनताको मतलाई सम्मानपूर्वक स्वीकार गर्दै लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन । उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै आएको परिणामलाई शिरोधार्य गर्नु आफ्नो र आफ्नो पार्टीको कर्तव्य भएको बताएका छन ।

ओलिले एक वक्तव्य जारी गर्दै यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरे जस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरे। साथै पार्टीले पनि अपेक्षित नतिजा ल्याउन नसकेको उल्लेख गर्दै उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताए ।
ओलिले कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थक प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन । “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,” उनले भने ।
उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनता प्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको स्पष्ट पारे । आगामी दिनमा पनि आफू र आफ्नो टोली जनताकै बीचमा रहेर जनताकै लागि काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन ।
“हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भने ।
अन्त्यमा उनले मत दिने, साथ दिने र विश्वास गर्ने सम्पूर्ण मतदाताप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन ।





