काठमाडौँ । लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, आर्थिक सुधार र वातावरणीय संरक्षणलाई केन्द्रमा राख्दै विभिन्न क्षेत्रका अधिकारकर्मी तथा सामाजिक अभियन्ता हरूले ‘नागरिक खबरदारी पत्र–२०८२’ सार्वजनिक गरेका छन ।
नागरिक आन्दोलन (Civic Movement for Ecological Democracy) को पहलमा तयार गरिएको उक्त दस्तावेजले लोकतान्त्रिक शासनलाई थप सहभागितामूलक, पारदर्शी र उत्तरदायी बनाउन सरकार तथा राजनीतिक दलहरूलाई विभिन्न नीतिगत सुझाव प्रस्तुत गरेको छ ।

खबरदारी पत्रमा लोकतन्त्र सुदृढीकरणका लागि नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने, जनप्रतिनिधि लाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक कानुनी व्यवस्था गर्ने तथा सुशासन र कानुनी शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। साथै, राज्यका निर्णय प्रक्रियामा पारदर्शिता बढाउने र लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने प्रस्ताव पनि गरिएको छ ।
आर्थिक क्षेत्रमा भूमिसुधार, सहकारी तथा साना उद्यमको प्रवर्द्धन मार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउनुपर्ने उल्लेख गरिएको छ । दलाल र आश्रयवादी पूँजीवाद अन्त्य गर्दै उत्पादनमुखी अर्थतन्त्र विकास गर्न र रोजगारी सिर्जनामा राज्यले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव पनि दस्तावेजमा समेटिएको छ।
त्यसैगरी, सामाजिक सुरक्षा प्रणाली विस्तार, प्रगतिशील कर प्रणाली लागू तथा कृषि, पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । शिक्षा र स्वास्थ्यलाई राज्यको प्राथमिक दायित्वका रूपमा सुनिश्चित गर्दै सबै नागरिकका लागि समान पहुँच उपलब्ध गराउनुपर्ने माग पनि खबरदारी पत्रमा गरिएको छ ।
जलवायु संकटलाई नेपालको गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै दस्तावेजले जलवायु अनुकूल विकास नीति अवलम्बन गर्न, प्राकृतिक स्रोत–साधनको संरक्षण गर्न र स्थानीय समुदायको सहभागितामा वातावरणीय शासन सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।
नागरिक खबरदारी पत्रप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले ऐक्यबद्धता जनाएका छन । ऐक्यबद्धता जनाउनेहरूमा नरेन खतिवडा, मञ्जु गुरुङ, पम्फा परियार, प्रयास अधिकारी, अधिवक्ता भूपेन्द्र शाह, अधिवक्ता विमन बुलाकोटी, सञ्जु गुरुङ, जिना यादव, योगेन्द्र विजय दाहाल, अधिवक्ता गणेश धामी, सञ्जय पन्थी, गंगा देवी कँडेल, डा. सुन्दर थापा, लोकेन्द्र राज गिरी, खगेन्द्र ओली, राम रोहन पन्त, डा. चिरञ्जीवी भट्टराई, भोला भट्टराई, मनोज राम, सुरिमिता वैद्यवार, कर्ण बहादुर नेपाली, महेन्द्र थापा, जीया राजभण्डारी, विनय कार्की, सागर देवकोटा र राजेन्द्र महर्जन रहेका छन ।
उक्त नागरिक खबरदारी पत्रले लोकतन्त्रलाई थप उत्तरदायी, समावेशी र वातावरणमैत्री बनाउँदै दिगो विकासको दिशामा राज्यलाई अग्रसर हुन आग्रह गरेको छ ।





