शब्द कुनै साधारण कुरा होइन । यो एउटा शक्ति हो, एउटा अस्त्र हो, जसलाई प्रयोग गर्ने तरिका र उद्देश्यले यसको महत्व निर्धारण गर्छ । ल्याटिन अमेरिकी लेखक एडुआर्दो गालियानोले भनेझैं, “शब्द त हतियार जस्तै हो । हामीले चाह्यौं भने यसै मार्फत व्यवस्थालाई पल्टाउने हौसला दिन सक्छौं, वा फेरि सबै कुरा राम्रै छ भन्ने भ्रममा रहँदै प्रकृति र भगवानको स्तुति मात्र गरेर बस्न सक्छौं।”
त्यसैले, हामीले लेख्दा हाम्रो उद्देश्य के हो, हामी कस्का लागि लेख्दैछौं, र हाम्रो दृष्टिकोण कस्तो छ भन्ने कुरामा हामी स्पष्ट हुन आवश्यक छ । साहित्य, कला, र अभिव्यक्तिका अन्य माध्यमहरू समाजमा परिवर्तन ल्याउने ढोकाहरू खोल्नका लागि हुनु पर्छ । खासगरी, राजनीति जब अनिर्णय र अलमलमा फसेको हुन्छ, त्यतिबेला लेखक र कलाकारहरूले बाटो देखाउने, सच्याउने, र टुटेका सम्बन्धहरू पुनःजोड्ने प्रेरणा दिने भूमिका निर्वाह गर्नुपर्छ ।
कलाको उद्देश्यबारे सुप्रसिद्ध चित्रकार पाब्लो पिकासोको भनाइ स्मरणीय छ— “मेरो कला कुनै घरको कोठा सजाउनको लागि होइन, यो क्रान्तिको लागि हो, परिवर्तनको लागि हो।” यस वाक्यले कलाको वास्तविक धर्मिता प्रष्ट पार्छ । कला केवल सौन्दर्यको सजावट होइन, यो समाजमा चेतना फैलाउने, प्रश्न उठाउने, र परिवर्तनको बाटो देखाउने माध्यम हो ।
यस सन्दर्भमा हास्यकलाको महत्व झन् विशेष हुन्छ । हास्य केवल मनोरञ्जनको साधन मात्र होइन ; यो छिटो ग्रहण हुने र गहिरो असर पार्ने विधा हो । जब हास्य र व्यंग्यलाई सही उद्देश्यका लागि प्रयोग गरिन्छ, यसले विकृति, विसंगति, र अन्यायको विरुद्धमा धारिलो हतियारको काम गर्छ । त्यसैले, हाम्रो सामग्री केवल हसाउने मात्र नभई समाजमा भएका त्रुटि र विसंगतिहरूलाई देखाउने, र आवश्यक परे राजनैतिक परिवर्तनको लागि प्रेरणा दिने किसिमको हुनुपर्छ ।
आजको डिजिटल युगमा सामाजिक सञ्जाल एक विशाल सार्वजनिक मंच बनेको छ । तर दुःखको कुरा, धेरैले यसलाई केवल आक्रोश पोख्ने, अरूलाई गाली गर्ने, वा आफ्नो प्रचार मात्र गर्ने थलोको रूपमा प्रयोग गरिरहेका छन् । यसले क्षणिक चर्चा त दिलाउँछ, तर दीर्घकालीन समाजोपयोगी योगदान कमै गर्छ । यसको सट्टा, हामीले सकेसम्म समाजोपयोगी सामग्री सिर्जना गर्नुपर्छ, जसले मानिसलाई सोच्न प्रेरित गरोस्, ज्ञान फैलाओस्, र सकारात्मक रुपान्तरणमा टेवा पुर्याओस् ।
किन यो आवश्यक छ? किनभने अहिलेको समय केवल समस्याको पहिचानमा सीमित रहनु पर्याप्त छैन । हो, आलोचना र असन्तुष्टि जतासुकै सुनिन्छ । समाजका विकृति, राजनीति भित्रका कमजोरी, र अन्यायका रूपहरू सबैले देखिसकेका छन् । तर अब आवश्यक कुरा हो ।उपचारको बाटो देखाउनु । लेखक र सर्जकको धर्मिता यहीँबाट सुरु हुन्छ । अबको आवश्यकता केवल ‘समस्या छ’ भन्ने कुरा दोहोर्याउनु होइन, बरु ‘यो समस्या समाधान गर्ने बाटो के हो’ भन्ने स्पष्ट दृष्टिकोण दिनु हो ।
यस सन्दर्भमा, लेखन केवल व्यक्तिगत भाव व्यक्त गर्ने माध्यम मात्र नभई सामाजिक जिम्मेवारी पनि हो । एउटा शब्द, एउटा वाक्य, वा एउटा कथाले कसैको सोच बदल्न सक्छ । यसरी बदलिएको सोचले समाज बदल्न सक्छ । यही कारणले लेखक र कलाकारहरूले आफ्नो शब्दको शक्तिलाई बुझ्नुपर्छ र त्यसलाई सही दिशा दिनुपर्छ ।
शब्दको शक्ति अद्भुत छ । यसले प्रेरणा दिन सक्छ, विद्रोह जगाउन सक्छ, वा फेरि निराश र मौनता फैलाउन पनि सक्छ । यो हाम्रो हातमा छ । यो शक्तिलाई कुन दिशामा प्रयोग गर्ने । जब हामी यो शक्ति समाज रुपान्तरणमा प्रयोग गर्छौं, त्यतिबेला मात्र साहित्य र कला साँच्चिकै समाजको ऐना बन्न सक्छ । ऐनाले केवल देखाउँछ मात्र होइन, देखेका कुरा सुधार्ने प्रेरणा पनि दिनुपर्छ ।
एडुआर्दो गालियानोको भनाइ फेरि सम्झौं— “शब्द त हतियार जस्तै हो।” यो चेतावनी पनि हो र अवसर पनि । यदि हामीले यसलाई परिवर्तनको पक्षमा प्रयोग गर्यौं भने, यो ठूलो सामाजिक आन्दोलनको आधार बन्न सक्छ । तर यदि हामी यसलाई केवल रमाइलो, व्यक्तिगत महिमा, वा यथास्थितिलाई समर्थन गर्न प्रयोग गर्छौं भने, यसको प्रभाव सिमित रहन्छ र यसको धर्मिता हराउँछ ।
अन्ततः, लेखन धर्मिता भन्नाले के बुझिन्छ? यो भन्नाले त्यो दृष्टिकोण र जिम्मेवारी बुझिन्छ जसले लेखकलाई आफ्नो सिर्जनालाई केवल व्यक्तिगत रचनात्मकता होइन, बरु सामाजिक रुपान्तरणको साधनको रूपमा हेर्न प्रेरित गर्छ । यो धर्मिता तब मात्र पुरा हुन्छ जब हाम्रो लेखनले अन्धकारमा उज्यालो खोज्ने, निराशामा आशा दिने, र अन्यायको विरुद्ध आवाज उठाउने साहस दिन्छन त्यसैले, आजको युगमा, जहाँ सूचनाको प्रवाह छिटो छ तर गहिरो सोच घट्दो छ, लेखक र कलाकारहरूले अझ जिम्मेवार हुनुपर्छ । हाम्रो शब्दहरू केवल कागजमा लेखिएका अक्षर मात्र होइनन् । यी चेतना जगाउने बिउ हुन् । यी बिउलाई हामीले यस्तो भूमिमा रोप्नुपर्छ जहाँबाट नयाँ सोच, नयाँ सम्भावना, र नयाँ समाजको अंकुर फुटोस् ।






